नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

बिचौलिया इनमसँग म्यासेज प्रकरण : सर्वोच्चको फूलकोर्ट बैठक सोमबार फेरि बस्ने

काठमाण्डौ – सर्वोच्च अदालतको फूलकोर्ट बैठक सोमबार फेरि बस्ने भएको छ । भोलि र पर्सि सार्वजनिक बिदा हुँदा बैठक सोमबार बस्ने भएको हो ।

प्रहरीको थुनामा रहेका बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश र न्यायाधीशको सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएपछि छलफल गर्न आज फुलकोर्ट अर्थात सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक बोलाएकोमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानबाहेक अन्य सबै न्यायाधीश उपस्थित  हुनुहुन्थ्यो ।

अहिले सर्वोच्च अदालतमा १६ जना न्यायाधीश छन् । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले सार्वजनिक भएका विषयमा धारणा बुझ्न र अब कसरी अघि बढ्ने भन्ने सुझाव लिनका लागि आज फुलकोर्ट बैठक बोलाउनुभएको थियो ।

आज सामान्य छलफल भएकोमा थप छलफल तथा आवश्यक निर्णय गर्न सोमबार फुलकोर्ट बैठक बस्ने सहमति भएको छ ।सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले न्यायालयमाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नका विषयमा आज सामान्य छलफल भएको जानकारी दिनुभयो । 

अदालतका चार जना न्यायाधीशसँग सापकोटाको सम्पर्क भएको खुलेकोमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरिप्रसाद फुयालसँग सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएका छन् ।

न्यायाधीश फुयालसँग सर्वोच्चमा विचाराधीन एक मुद्दाका विषयमा कुराकानी भएको सार्वजनिक विवरणमा उल्लेख छ । प्रहरीले बिचौलिया सापकोटालाई पक्राउ गरी उनीसँग जोडिएका न्यायाधीश, सुरक्षा अधिकारी र राजनीतिक व्यक्तित्वको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ ।

विवादित छविका इनम सापकोटासँग थुप्रै उच्च पदस्थ व्यक्तिहरूको सम्बन्ध खुल्न थालेपछि प्रहरीले छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।

यसैबीच सर्वोच्च अदालत बार एसोसिएसनले  प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारको विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ । न्यायपालिकाको  विषयमा सार्वजनिक भएका विषयले जनविश्वासमै आघात पुगेको भन्दै सर्वोच्च बारले सत्यता सार्वजनिक हुनुपर्ने माग गरेको हो ।

प्रकाशित मिति:
थप समाज