नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

बाढी र उद्धारबारे सेनाको ब्रिफिङ : ‘विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक’

काठमाण्डौ – नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ ।

आज प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा समन्वयमा चुनौती थपिएको बताउनुभएको हो ।

उहाँले छरितो र एकल ‘चेन अफ कमाण्ड’ आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको पनि जनाएको छ ।

सहायक रथी थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताउनुभयो । संसदीय समितिसमक्ष भावी कार्यदिशा प्रस्तुत गर्दै सेनाले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनाको नेतृत्व जिल्ला विपद् व्यवस्थापन समितिले लिनुपर्ने र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सुपरीवेक्षण गर्नुपर्ने सुझाएको छ ।

साथै, नेपालतर्फ फर्किएका कम्तीमा ४५ वटा हिमताल जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको भन्दै पूर्वसूचना प्रणालीलाई घरधुरी तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति:
थप समाज