नेभिगेशन

मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डौ — गएराति मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो पानी परेको छ । सुनसरी, उदयपुर, सिन्धुली नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहितका अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । कैलालीको कटेनी नदी, रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज र भोलि पनि देशका धेरै ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका धेरै र  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भेगका धेरै ठाउँमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना  छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराईको एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज