नेभिगेशन

बीपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक

काठमाण्डाै – जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा गाडी आवागमन रोकेको छ ।

रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाडी आवागमन अस्थायी रूपमा ‘होल्ड’ गरेको प्रहरीको सूचनामा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना निकालेर गाडी आवागमन पुनः सञ्चालन भएको जानकारी गराइनेछ ।

कोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ । आज बिहान ६ बजेतिर १ लाख ३१ हजार २०० क्युसेक मापन भएको पानीको बहाव दिउँसो १ लाख ५८ हजार क्युसेक नाघेको छ । अहिले कोशी ब्यारेजमा ५६ मध्ये १८ वटा ढोका खुला गरिएको छ । खतराको सङ्केतस्वरूप रातो झण्डा र बत्ती बालिएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले आउँदो ३ दिनसम्म ३४ वटा जिल्लाका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ ।

नदी तथा खोला आसपास बसोवास गर्नेलाई सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे आग्रह छ ।

अहिले बागमती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा बाँकी प्रदेशका १/२ ठाउँमा पानी परिरहेको छ ।

प्रकाशित मिति:
थप समाज