विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको हो ।
अमेरिकाको वाशिङ्गटन डीसीमा रहेको एक निष्पक्ष ‘थिङ्क ट्याङ्क’ अर्थात् नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कीर्तिमानी स्तर छोएको छ भने अमेरिकाप्रतिको धारणा भने खस्किएको छ ।
सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी जिनपिङ दुवैप्रति कम विश्वास व्यक्त गरेका छन् । यद्यपि ट्रम्पको तुलनामा सीले धेरै अङ्क प्राप्त गर्नुभयो ।
चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अन्य देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा उल्लेख छ ।
प्यु रिसर्च सेन्टरले गएको फेब्रुअरी र मे महिनाको बीचमा ३६ वटा देशका ४२ हजार जनाभन्दा धेरै मानिसहरूमा सर्वेक्षण गरेको थियो ।
उत्तरदाताहरूलाई प्रत्येक महाशक्तिराष्ट्रबारे उनीहरूको धारणा अत्यन्त सकारात्मक, केही हदसम्म सकारात्मक, केही हदसम्म नकारात्मक वा अत्यन्त नकारात्मकमध्ये कुन हो भनी सोधिएको थियो ।
अनुसन्धान केन्द्रका अनुसार ३६ मध्ये २५ वटा देशमा अमेरिकाको तुलनामा चीनप्रति सकारात्मक दृष्टिकोण राख्ने मानिसहरू धेरै रहेका थिए ।
चीनतर्फ सबैभन्दा धेरै झुकाव देखिएका देशहरूमा स्पेन, इन्डोनेशिया, इटाली, ग्रीस र क्यानडा पर्दछन् । साथै इटाली, स्पेन, कोलम्बिया, मेक्सिको, इन्डोनेशिया, मलेशिया, नाइजेरिया र टर्किए लगायतका केही ठाउँहरूमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कीर्तिमानी उचाइ छोएको छ ।
यस्तै अमेरिकालाई अझै धेरै समर्थन गर्ने देशहरू जम्मा ६ वटा मात्र छन् जसमध्ये धेरैजसो अमेरिकाका कट्टर सहयोगी राष्ट्रहरू हुन् । ती देशहरूमा पोल्यान्ड, फिलिपिन्स, दक्षिण कोरिया, भारत, जापान र इजरायल पर्दछन् ।
सर्वेक्षणमा सहभागीहरूलाई विश्व मामिलाका सन्दर्भमा सही कदम चाल्ने विषयमा सी र ट्रम्पप्रति विश्वास छ कि छैन भनेर पनि सोधिएको थियो ।
समग्रमा दुवै नेताहरूप्रतिको विश्वासको स्तर सामान्यतया कम थियो र धेरैजसो नतिजाहरू ५० प्रतिशतभन्दा तल थिए । तर सर्वेक्षण गरिएका धेरैजसो देशहरूमा ट्रम्पको तुलनामा सीप्रति धेरै विश्वास देखियो ।
पछिल्ला वर्षहरूमा अन्य संस्थाहरूले पनि यस्तै अनुसन्धान गरेका छन् ।
जनमत सर्वेक्षण गर्ने कम्पनी ‘ग्यालप’ ले गएको वर्ष विश्वव्यापी समर्थन दरमा चीनले अमेरिकालाई उछिनेको र यस क्रममा विगत २० वर्षयताकै सबैभन्दा ठूलो अन्तर चीनको पक्षमा देखिएको तथ्य फेला पारेको थियो ।
तर अमेरिकी ‘थिङ्क ट्याङ्क’ ‘एशिया सोसाइटी’ को ‘चीनबारे विश्वव्यापी जनमत’ सम्बन्धी वार्षिक सर्वेक्षणले महामारीका बेला खस्किएको चीनको छवि त्यसयता सामान्य रूपमा मात्र सुध्रिएको छ ।