नेभिगेशन

जनकपुरबाट काठमाण्डौको लागि पैदल मार्च सुरु गरेका मिटर ब्याज पीडितहरू १०औँ दिनमा निजगढबाट घर फर्किए

गएको असार २५ गते जनकपुरबाट काठमाण्डौका लागि पैदल मार्च सुरु गरेका मिटर ब्याज पीडितहरू निजगढबाटै फर्किएका छन् ।

हिजो सरकारसँग ९ बुँदे सहमति भएपछि उनीहरू जनकपुरबाट हिँडेको १० औँ दिनमा आज घर फर्किएका हुन् । पैदल मार्च गरिरहेका बेला उनीहरूसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ सहितको टोली बाराको निजगढ पुगेपछि उनीहरू त्यहीँ रोकिएका थिए । उनीहरूले निजगढमा रहेको उद्योग वाणिज्य सङ्घको भवनमा ६ दिन बिताएका छन् ।

जनकपुरबाट सुरु भएको पैदल मार्चमा विभिन्न जिल्लाबाट गएका पीडित थपिँदै निजगढमा आइपुग्दा पाँच सय भन्दा धेरै भएका थिए । यस अघि सरकारसँग पटक पटक सहमति गरेर पनि माग पूरा नभएकोमा यो पटक भने आफूहरूको समस्या समाधान हुने आशा रहेको पीडितहरूको भनाइ छ ।

मिटर ब्याजी साहुका कारण थातथलो गुमाउने अवस्थामा पुगेका, चर्को ब्याजको दलदलमा फसेका र मानसिक तथा शारीरिक शोषण बेहोरेका सयौँ पीडितहरू न्याय पाउने बलियो आश्वासन बोकेर घरतर्फ लागेको पीडितहरू बताउँछन् ।  सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने र नियन्त्रणका लागि विशेष कानुन बनाउने प्रतिबद्धता जनाएको छ ।

 पीडितलाई राहत प्याकेज, छुट्टै न्यायाधिकरण गठन तथा कानुनी अवरोध हटाउने व्यवस्था गरिने सम्झौता पत्रमा उल्लेख छ । 

प्रकाशित मिति:
थप समाज