नेभिगेशन

नेपालमा वैशाखदेखि अहिलेसम्म विपद्बाट १६४ जनाको ज्यान गयो

काठमाण्डौ - देशभर सक्रिय रहेको मनसुनका कारण बितेको २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा परी एक जनाको ज्यान गएको छ । नौ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार २४ घण्टामा देशभर ४२ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन् । सबैभन्दा धेरै १४ जिल्लाका २२ ठाउँमा पहिरो गएको छ ।  विपद्का कारण पछिल्लो २४ घण्टामा अनुमानित १८ लाख ५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ । वर्षा र पहिरोका कारण देशका ६ वटा मुख्य सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । 

यो वर्षको वैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट १६४ जनाको ज्यान गएको छ ।  ३ हजार ३८९ विपद्का घटना भएकामा १ जना बेपत्ता भएका छन् भने ९८१ जना घाइते भएका छन् । त्यस्तै ४ हजार ५०५ परिवार प्रभावित भएका छन् । वैशाख १ गतेदेखि अहिलेसम्मको विवरण अनुसार सर्पदंशबाट मात्रै ३९ जनाको ज्यान गएको छ । 

त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागीबाट १७ र वन्यजन्तुको आक्रमणबाट १७ जनाको ज्यान गएको छ ।  यस्तै हावाहुरी र पहिरोका कारण १३–१३ जनाले ज्यान गुमाएका छन् । बाढीबाट १० र आरिघोप्टे वर्षाका कारण ४ जनाको ज्यान गएको छ । 

प्राधिकरणले विपदका घटना बढिरहेका र अबका दिनमा अझै जोखिम रहेको भन्दै यात्रामा निस्कनुअघि सडक विभाग वा स्थानीय प्रहरीसँग सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।    

प्रकाशित मिति:
थप समाज