नेभिगेशन

नारायणगढ–मुग्लिन–काठमाण्डौ सडक खण्डमा गाडी चल्न थाले : वीपी राजमार्ग अवरुद्ध

काठमाण्डौ - गएरातिदेखि बन्द रहेको नारायणगढ–मुग्लिन–काठमाण्डौ सडक खण्डमा गाडी चल्न थालेका छन् । 

यसअघि सूचनामार्फत अनिश्चित कालका लागि बन्द गरिएको यो सडक आज बिहान ६ बजेपछि मात्रै खुलेको हो । नारायणगढ–मुग्लिन खण्डमा अहिले अवरोध नरहेको र सबै खाले गाडी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

गएराति पहिरो र सम्भावित बाढीको जोखिमका कारण काठमाण्डौ उपत्यकाबाट पश्चिमका जिल्ला जाने र काठमाण्डौ भित्रने गाडीहरू चल्न सकेका थिएनन् । मुग्लिन–काठमाण्डौ सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै खसेको पहिरो पनि हटाइएको छ । अहिले दुवै खण्डमा अवरोध नभएको र गाडीको आवागमन शुरु भएको प्रहरीले जनाएको छ । 

यस्तै लगातारको वर्षाका कारण पहिरो र बाढीले वीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध छ । यो सडकको विभिन्न ४/५ ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घुमाउने, चारसयबेँसी, गिम्दी, तीनथलीलगायतका ठाउँमा पहिरो खसेको हो । 

पहिरो पन्छाउने काम थालिएको तर केही समय लाग्ने प्रहरीले जनाएको छ । मनसुन अवधिभर वीपी राजमार्गमा रातमा गाडी चलाउन यसअघि नै रोक लगाइएको छ । 

प्रकाशित मिति:
थप समाज