नेभिगेशन

फिफा अध्यक्षको भव्य विश्वकप यात्रा : पृथ्वीलाई साढे २ पटक फन्को मार्न पुग्ने दूरी तय

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप अवधिभर ९५ हजार किलोमिटरभन्दा धेरै हवाई यात्रा गर्नुभएको छ ।

समाचार संस्था एपीले इन्फान्टिनो सवार निजी विमानको उडान विवरण, फिफा र उहाँको सामाजिक सञ्जालको विश्लेषण गर्दै यो जानकारी सार्वजनिक गरेको हो । 

अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशका १६ शहर र चार फरक समय क्षेत्रमा आयोजना भएको प्रतियोगिता अवधिभर फिफा अध्यक्ष इन्फान्टिनोले आकाशमै १०० घण्टाभन्दा धेरै समय बिताउनुभयो ।

उद्घाटन खेलदेखि आज बिहान भएको विश्वकप फाइनलसम्म आइपुग्दा उहाँले पृथ्वीलाई झन्डै साढे दुई पटक फन्को मार्न पुग्ने दूरी तय गरिसक्नुभएको खबरमा उल्लेख छ ।

फिफा अध्यक्ष इन्फान्टिनो विश्वकप अवधिभर कतार सरकारको ‘गल्फस्ट्रीम जी ६५०’ निजी विमानमा यात्रा गर्नुभएको हो । यो विमानले औसतमा दैनिक एकभन्दा धेरै र कुनै–कुनै दिन तीन वटासम्म उडान भरेको थियो ।

उहाँ यही विमानमार्फत ‘फक्स एन्ड फ्रेन्ड्स’ मा अन्तर्वार्ता दिन न्यूयोर्क र फिफा सम्मेलनका लागि मियामी पुग्नुभयो । यस्तै इन्फान्टिनो कतारका पूर्व अमिरको अन्त्येष्टिमा सहभागी हुन दोहा पनि पुग्नुभयो ।

३९ दिनसम्म चलेको २६औँ संस्करणको विश्वकपमा १०४ वटा खेल भएका थिए । फिफा अध्यक्षले प्रतियोगिताभर ४४ वटा खेल मैदानमै उपस्थित भएर हेर्नुभयो । उहाँले विश्वकप आयोजना भएका १६ वटै रङ्गशालामा पुगेर कम्तीमा एउटा खेल हेर्नुभयो ।

यसैबीच पहिलो पटक तीन देशमा आयोजना भएको विश्वकपका लािग टोली, समर्थक र पदाधिकारीहरूको व्यापक हवाई यात्रा र कार्बन उत्सर्जनका कारण वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद