नेभिगेशन

बागमती प्रदेशको मुख्य सडक खण्डमा अहिले निर्बाध रूपमा गाडी सञ्चालनमा

काठमाण्डौ - बागमती प्रदेशको मुख्य सडक खण्डमा अहिले निर्बाध रूपमा  गाडी सञ्चालन भइरहेको छ । 

वर्षासँगैको पहिरोका कारण केही दिन बागमती प्रदेशको पृथ्वी राजमार्ग, वीपी राजमार्ग , अरनिको राजमार्ग र हेटौँडा काठमाण्डौ सडक खण्ड सञ्चालनमा अवरोध हुँदै आएकोमा आज यी सडकमा गाडीहरू चलिरहेको नेपाल प्रहरीले जनाएको छ । चितवन र धादिङका विभिन्न खण्डमा हिजो दिउँसो सडक खुलेपछि दुई तर्फी गाडी निर्बाध रूपमा सञ्चालन भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

वर्षासँगैको पहिरोको जोखिम कायमै रहेकोले यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई प्रहरीको आग्रह छ । यसै गरी अरनिको राजमार्गका भोटेकोशी गाउँपालिकाको जिरोकिलो र कोदारीमा पनि गाडी सञ्चालनमा आएको छ । साथै मकवानपुरको हेटौँडादेखि काठमाण्डौ ललितपुरको सडकमा पनि गाडी चलिरहेको छ  । 

वीपी राजमार्गको काभ्रेको खुर्कोटदेखि कटुञ्जेबेँशीमा भने रातिको समय गाडी  सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । वर्षासँगैको सम्भावित बाढीलाई मध्यनजर गरी गएको असार २९ देखि नै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाउँदै आएको छ । अहिले पनि गाडी सञ्चालनमा कुनै रोक लगाइएको छैन । 

प्रकाशित मिति:
थप समाज