नेभिगेशन

फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान शुरु

काठमाण्डौ - पर्यटकीय नगरी पोखराको फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले डुङ्गा चालकमाथि जाँडरक्सी तथा लागुऔषध सेवनसम्बन्धी विशेष जाँच अभियान शुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम तथा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा डुङ्गा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालन गरिएको अभियानअन्तर्गत ३२ जना डुङ्गा चालकको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा तीन जना चालकले गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार पक्राउ परेका चालकमाथि आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

डीएसपी भट्टराईले पर्यटक तथा सर्वसाधारणको सुरक्षा नेपाल प्रहरीको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

फेवातालका आठ वटा घाटबाट फेवा डुङ्गा व्यवसायी समितिसँग आबद्ध ७०० भन्दा बढी डुङ्गा सञ्चालनमा छन्। बेला-बेलामा हुने मानवीय लापरबाही तथा भवितव्यका कारण तालमा दुर्घटना हुने गरेकाले प्रहरीले निगरानीलाई थप प्रभावकारी बनाएको जनाएको छ।

यसैबीच, फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले प्रहरीको उक्त अभियानको स्वागत गर्दै यसलाई सकारात्मक कदम भएको बताउनुभयो। उहाँले लागुऔषध सेवन गरेर डुङ्गा चलाउनु यात्रुको सुरक्षाका दृष्टिले अत्यन्त जोखिमपूर्ण हुने र यसले पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।

प्रकाशित मिति:
थप समाज