नेभिगेशन

विदेश भ्रमणको नाममा ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डौ - विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरामा रहेको ‘ओसिस टुरिजम इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित कम्पनीमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका वडा नम्बर १२ का २६ वर्षीय विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासेर रहेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटर लगायतका महत्त्वपूर्ण सामग्रीहरू समेत बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कम्पनी नेपाली नागरिकको नाममा दर्ता गरिए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको पाइएको छ । 

कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्ड लगायतका देशहरूमा सस्तो प्याकेजमा घुम्न लैजाने भन्दै ग्राहकहरूलाई आकर्षित गर्ने गरेको थियो । प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मको प्याकेज बनाएर शुरुमा अग्रिम रकम लिने र पूर्ण भुक्तानी भइसकेपछि कम्पनी नै बन्द गरेर सञ्चालकहरू फरार हुने योजनाका साथ स्क्याम चलाइएको प्रहरीको दाबी छ । 

डीएसपी भट्टराईका अनुसार कम्पनीले विभिन्न अफरहरू देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरेको थियो । छापा मार्ने क्रममा कम्पनीमा कार्यरत १५ जना युवतीहरूलाई प्रहरीले फेला पारेको थियो । 

उनीहरूलाई आवश्यक सोधपुछ र सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु दुई जना सञ्चालकहरू भने फरार रहेका छन् । 

प्रकाशित मिति:
थप समाज