नेभिगेशन

तीन बालिकाको भाइरल भिडियो ट्राफिक शिक्षाको माध्यम बन्यो

काठमाण्डौ - सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको तीन नानीहरूको भाइरल भिडियो अब ट्राफिक शिक्षाको माध्यम बनेको छ । 

नेपाल प्रहरीले भाइरल भिडियोलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै ट्राफिक नियमबारे जनचेतना फैलाउने भिडियो बनाएको हो । रोल्पाको रुन्टीगढी गाउँपालिकाका तीन बालिकाको  भिडियोबाट प्रेरणा लिँदै ट्राफिक प्रहरीले ट्राफिक बत्तीको अर्थ सहज र सबैले सम्झन सक्ने शैलीमा प्रस्तुत गरेको हो । 

भिडियोमा पहेँलो रेनकोट लगाएकी बालिकासँग ट्राफिक बत्तीको पहेँलो संकेत जोडेर ट्राफिकको पहेँलो बत्तिले तयारीको आदेश दिन्छ भन्ने सन्देश दिइएको छ । त्यस्तै, हरियो रेनकोट लगाएकी बालिकासँग हरियो बत्ती जोड्दै 'ट्राफिकको हरियो बत्तिले जाने आदेश दिन्छ' भनिएको छ भने गुलाबी रेनकोट लगाएकी बालिकालाई रातो बत्तीको प्रतीकात्मक माध्यम बनाउँदै 'ट्राफिकको रातो बत्तिले रोक्ने आदेश दिन्छ' भन्ने भिडियो सामग्री बनाइएको छ ।

सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको भिडियोलाई ट्राफिक शिक्षाको माध्यम बनाउने प्रहरीको यो प्रयासलाई धेरैले सिर्जनशील र जनचेतनामूलक अभियानका रूपमा लिएका छन् । बजारमा लोकप्रिय बनेको सामग्रीलाई सकारात्मक सन्देशसँग जोडेर सर्वसाधारण, विशेषगरी बालबालिकासम्म ट्राफिक नियम सहज रूपमा पुर्‍याउने उद्देश्य यसमा देखिन्छ । 

भिडियोको अन्त्यमा ट्राफिक प्रहरीले भावनात्मक सन्देश पनि दिएको छ; 'प्यारा नानीबाबुहरूजस्तै सडकका ट्राफिक लाइटहरूले पनि हामीलाई मायाकै भाषा बोलिरहेका छन् । ट्राफिक नियमको पालना गरौँ।'

प्रकाशित मिति:
थप समाज