नेभिगेशन

जिम्बाब्वेसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारतको क्लिन स्विप

भारतले जिम्बाब्वेसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–० ले आफ्नो पक्षमा पार्दै क्लिन स्विप गरेको छ । हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बाब्वेलाई ३५ रनले पराजित गर्दै शृंखलामा अपराजित यात्रा कायम राख्यो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनायोे ।

भारतका लागि ओपनर वैभव सूर्यवंशीले ४९ बलमा ८ चौका र ४ छक्कासहित शानदार ८१ रनको अर्धशतकीय इनिङ्स खेले । इशान किशनले २९ रन बनाउँदा कप्तान श्रेयस अय्यरले १८ बलमा २७ तथा रिंकु सिंहले १४ बलमा २५ रनको आक्रामक योगदान दिए । जिम्बाब्वेका ब्राड इभान्सले २ विकेट लिए । १९३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे शुरुआतदेखि नै दबाबमा रह्यो ।

भारतीय तीव्र गतिका बलर मयंक यादवले पहिलो बलमै ब्रायन बेनेटलाई आउट गर्दै उत्कृष्ट शुरुआत दिलाएका थिए । रायन बर्लले अविजित ५४ रन र वेस्ली मधेभेरेले २८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । भारतका लागि मयंक यादवले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने यश ठाकुरले ४५ रन खर्चेर २ विकेट हात पारे ।

भारतले बिहीवार पहिलो खेल ७ विकेटले तथा शनिवार दोस्रो खेल ९० रनले जितेको थियो । 


 

प्रकाशित मिति:
थप खेलकुद