नेभिगेशन

पूर्वाधारमा प्राविधिक त्रुटिले माइतीघर डुबानमा परेको प्रतिवेदनको ठहर

काठमाण्डौ — काठमाण्डौको माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसी संयोजकत्वको समितिले हिजो बुझाएको प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा  इन्जिनियरिङ त्रुटि देखिएको छ ।

माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । प्रतिवेदनले भौतिक पूर्वाधारबाहेक वातावरणीय र शहरी विकास तथा व्यवस्थापनका कारण डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ ।

माइतीघर डुबानमा अर्को कारण अतिक्रमण पनि उस्तै जिम्मेवार देखिएको प्रतिवेदनमा उल्लेख छ । अनुगमनका क्रममा कतिपय ठाउँमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचना निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ ।

दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की बनाउन प्रतिवेदनले सुझाव दिएको छ । 

प्रकाशित मिति:
थप समाज