नेभिगेशन

सुनसरी घटना : पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन

काठमाण्डाै – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा अस्ति आइतवार भएको घटनापछि सुनसरी र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन ।

घटनाको विरोधमा प्रदर्शनकारीहरू सडकमा निस्किएपछि पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित भएको छ ।

विशेषगरी पकलीदेखि कोशी ब्यारेजसम्मका विभिन्न क्षेत्रमा गाडी आवागमनसमेत प्रभावित बनेको छ ।

अस्ति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा १ जनाको ज्यान गएको थियो । घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र सुरक्षाको माग गरिरहेकाे प्रदर्शनकारीहरूले बताएका छन् ।

लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवनसमेत प्रभावित बनेको छ । सुरक्षा अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा कर्फ्यु कायम रहेको छ भने देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

देवानगञ्ज र हरिनगरकाे सबै ठाउँमा आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ७ जनाभन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत् छ ।

त्यस्तै अनिश्चितकालीन कर्फ्यु हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ । 

प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाडीमा समेत रोक लगाएको छ ।

प्रकाशित मिति:
थप समाज