नेभिगेशन

टी–२० ब्याटिङ वरीयता : वैभव सूर्यवंशी एकैपटक २३० स्थान माथि उक्लिए

काठमाण्डाै – आईसीसी टी–२० ब्याटिङ वरीयतामा भारतका १६ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले एकैपटक २३० स्थान सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सूर्यवंशी २३० स्थान सुधार गर्दै करिअरकै उत्कृष्ट ४८औँ स्थानमा उक्लिएका हुन् ।

हरारेमा घरेलु टोली जिम्बावेसँगको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा सूर्यवंशीले १५१ रन बनाएका थिए । उनले शृङ्खलाकै उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए ।

टी–ट्वान्टी ब्याटिङ वरीयताको शीर्षमा भारतका ईशान किशन, दोस्रोमा पाकिस्तानका शाहिबजादा फरहान र तेस्रो स्थानमा भारतकै अभिषेक शर्मा छन् । यो वरीयतामा नेपालका गुल्सान झा ५ स्थान सुधार गर्दै ९७औँ स्थानमा उक्लिएका छन् ।

टी–ट्वान्टी बलिङ वरीयताको शीर्षमा अफगानिस्तानका राशिद खान, दोस्रोमा पाकिस्तानका अब्रार अहमद र तेस्रो स्थानमा इङ्ग्ल्यान्डका आदिल रशिद रहेका छन् । यो वरीयतामा नेपालका कुनै पनि खेलाडीले सुधार गरेका छैनन् ।

टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी १ स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् । यो वरीयतामा जिम्बावेका सिकन्दर राजा शीर्ष र पाकिस्तानका सइम अयुब दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति:
थप खेलकुद