नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

काठमाण्डाै – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १०औँ राष्ट्रिय खेलकुद–२०८३ लाई सफल बनाउन हवाई सेवा सहज र प्रभावकारी बनाउन वायुसेवा सञ्चालकहरूलाई आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा रहेको मन्त्रालयमा आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी तथा आन्तरिक वायुसेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पोखरेलले खेलाडी र खेलप्रेमीहरूको आवतजावत सहज बनाउन आवश्यक समन्वय गर्न सुझाव दिनुभएको हो ।

सुर्खेत, जुम्लालगायत प्रतियोगिता आयोजना हुने गन्तव्यमा यात्रुको चाप बढ्ने भएकाले आवश्यकताअनुसार उडान व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । प्रतियोगितालाई राष्ट्रिय महोत्सवका रूपमा विकास गर्दै एशियन र ओलम्पिकस्तरको छनोटका रूपमा लैजानुपर्नेमा मन्त्री पोखरेलले जोड दिनुभयो ।

छलफलमा क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्ण र वायुसेवा कम्पनीका प्रतिनिधिहरूले यात्रुको चापअनुसार सुर्खेत र जुम्लालगायतका गन्तव्यमा उडान सङ्ख्या थप गर्न तथा सेवा सहज बनाउन प्रतिबद्धता जनाएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा भोलिदेखि केही खेल शुरू हुँदैछन् भने प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ । प्रतियाेगिता मङ्सिर २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद