नेभिगेशन

महाेत्तरीमा वन कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाण्डाै – महोत्तरीको बर्दिबास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन भएको छ ।

वन कर्मचारीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्दै वातावरण संरक्षण अभियानकर्मीहरूले ३ दिनदेखि प्रदर्शन गर्दै आएका हुन् ।

माइतीघर मण्डलामा धर्ना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले २ महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेका बताउनुभयो ।

यादवका अनुसार २ महिना अगाडि महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस गर्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन श्रेष्ठसहित ७ जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झन्डै ६–७ घण्टा बन्धक बनाएको थियो । उनीहरूलाई मानसिक यातना दिएको र वन कर्मचारीले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरी पूर्णरूपमा नष्ट गरेको उहाँको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिहरूलाई राजनीतिक संरक्षण प्राप्त भएको आरोप लगाउँदै अभियन्ता यादवले मधेश प्रदेश सरकारले घटनाप्रति बेवास्ता गरेको दाबी गर्नुभयो । यादवले कालापानी क्षेत्रमा वास्तविक भूमिहीन सुकुम्वासी भएमा उनीहरूको राज्यले उचित व्यवस्थापन गर्नुपर्ने तर सुकुम्वासीका नाममा वन अतिक्रमण गर्ने भू–माफिया र हुकुम्वासीलाई कानूनी कारबाही गरी हटाउनुपर्ने माग गर्नुभयो ।

दोषीलाई कारबाहीको माग राखेर यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाइसकेको यादवले जानकारी दिनुभयो । उहाँले दोषीलाई पक्राउ गरी कारबाही नगरेमा अनिश्चितकालीन धर्ना र आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज