नेभिगेशन

धादिङको जोगिमारामा लेदोसहितको पहिरोले अवरुद्ध सडक खुल्यो

काठमाण्डाै — धादिङको जोगिमारामा लेदोसहित पहिरो खसेर अवरुद्ध सडक खुलेको छ । गएरातिको पहिरोले सडक दुईतर्फी नै अवरुद्ध भएकोमा अहिले बिहान पौने ७ बजेदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरोका कारण चितवनबाट काठमाण्डौतर्फ तथा काठमाण्डौबाट चितवनहुँदै पूर्व र पश्चिम पुग्ने गाडीलाई धादिङका विभिन्न ठाउँमा रोकिएको थियो । सडक खुलेसँगै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका प्रहरीको भनाइ छ ।

त्यस्तै पानी परेर मुग्लिन–नारायणगढ सडक खण्ड गएराति अवरुद्ध भएको थियो । नाम्सि पुल नजिकै माथिबाट ढुङ्गा खस्दा सडक रातमा एकतर्फी अवरुद्ध भएकोमा अहिले गाडी चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मनसुनमा हुनसक्ने सम्भावित पहिरो तथा बाढीलाई मध्यनजर गरी काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातमा गाडी चलाउन रोक लगाइएको छ ।

यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडी सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ । इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि आवागमन पूर्ण रूपमा बन्द छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ । दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि यो सडक पनि अवरुद्ध छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले सडक पूर्ण रूपमा बन्द छ ।  यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक र मौसमको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन प्रहरीको अनुरोध छ । 

प्रकाशित मिति:
थप सडक र सवारी