नेभिगेशन

धनुषामा पनि कर्फ्यु हट्यो, निषेधाज्ञा लागू

काठमाण्डौ — जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले निकालेको विज्ञप्तिमा आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको उल्लेख छ ।

यसअघि अस्ति साउन १४ गते दिउँसो साढे ३ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान १० बजेदेखि हटाइएको प्रशासनले जनाएको छ ।

कर्फ्यु हटाइए पनि शान्तिसुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न एकै ठाउँमा पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोकसहित निषेधाज्ञा छ । प्रशासनले तोकेको चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाबाट नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा–मोहीनी–मनिमण्डप–नेपाल नर्सरी–इरकोन जनकपुर–दुहमती पुल–बेला–कादरी मस्जिद क्षेत्र समेटिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिकाको कर्फ्यु आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज सूचनामार्फत् जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लगाइएको कर्फ्यु आदेश हटाइएको जानकारी दिनुभएको छ ।

लहान नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु बिहान १० बजेदेखि हटेको हो । प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । आजै सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यु आदेशलाई हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले विज्ञप्तिमार्फत् आज बिहान साढे ८ बजेदेखि बेलुका ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिनुभएको छ । कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम विभिन्न १० पालिकामा निषेधाज्ञा लागू गरेको छ ।   

Dhanusa-pp-1785563320.jpg
 

प्रकाशित मिति:
थप समाज