नेभिगेशन

रियल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योल

काठमाण्डौ - स्पेनिस क्लब रियल म्याड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्योलमा परेको छ ।

क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढी आर्थिक प्रस्ताव नबढाउने स्पष्ट पारेको छ । यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्षमात्र बाँकी छ ।

उनी विश्वकपपछि बिदा सकेर पर्सिदेखि टोलीको प्रि–सिजन प्रशिक्षणमा फर्किनेछन् । त्यसपछि उनले रियल म्याड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ । गएको सिजन प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ । यही कारण पनि उनको भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

यता, इंग्लिस क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल र भिनिसियसबीच कुनै औपचारिक छलफल नभएको बताइएको छ । सन् २०१८ मा रियल म्याड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाडीमध्ये एक हुन् । 
 

प्रकाशित मिति:
थप खेलकुद