नेभिगेशन

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

काठमाण्डौ - चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ ।

यसका लागि सरकारसँगको सहकार्यमा चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो । चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष (आरबिसी), सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छ ।

बोनम्यारोको रोग विशेष गरी दुई तरिकाले लाग्छ । एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर । यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन । यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले  चिनियाँ टोली केही दिन अघि दुई हप्ता चितवनमै बसेर ‘बोनम्यारो’  प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो । टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो । उहाँका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता पश्चातआवश्यक काम अघि बढ्ने छ ।

अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तलाको भवन बनाइने छ ।  निमित्त कार्यकारी निर्देशक नेपालका अनुसार सन् २०२६ मा नै काम सुरु गर्ने चिनियाँ टोलीको तयारी छ । चिनियाँ सरकारले यो परियोजना सम्पन्न गर्न झण्डै ३७ मिलियन चिनिया रकम अर्थात झण्डै ८३ करोड २५ लाख रुपैयाँ) खर्च गर्दै छ । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘बोनम्यारो’  प्रत्यारोपण सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ ।

यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट नेपालमा पहिलो हुने डा पौडेलको दाबी  छ । अहिले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी विदेश जान बाध्य छन् ।

प्रकाशित मिति:
थप समाज