नेभिगेशन

अब अनलाइनबाटै कन्सुलर प्रमाणीकरण

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधियुक्त बनाउन ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले सिंहदरबारमा रहेकाे कन्सुलर सेवा विभागमा आज आयोजित एक कार्यक्रममा यो नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो ।

सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र तथा सिफारश पत्रजस्ता कानूनी कागजातको प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ ।

अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो प्रणालीबाट आवेदनको अवस्था हेर्न, स्वीकृत भएपछि अनलाइनबाटै राजस्व बुझाउन र सुविधाअनुसार विभागमा उपस्थित हुने समय छनोट गर्न सकिनेछ ।

यसअघि कागजातमा त्रुटि वा अपुग हुँदा पटक–पटक विभाग धाउनुपर्ने बाध्यता रहेकामा अब अनलाइनबाटै कागजात रुजु भएपछि मात्र विभाग जानुपर्नेछ । यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास छ ।

वार्षिक १ लाख १२ हजारभन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झन्डै ४ लाख नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन् । सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्‍याउने परराष्ट्रमन्त्री खनालले बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज