नेभिगेशन

इङ्ग्ल्यान्डका अलराउन्डर सेफ अली जैब सुदूरपश्चिम राेयल्समा फर्किए

काठमाण्डाै – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि इङ्ग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाटै खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए ।

राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इङ्ग्ल्यान्डको घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । बाँयाहाते ब्याटर उनले टी–२० क्रिकेटमा ११२ खेलबाट १४० को स्ट्राइक रेटमा १ हजार ७९२ रन बनाएका छन् । यस्तै उनले २३ विकेट लिएका छन् ।

टोलीमा अनुबन्ध भएपछि जैबले फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुशी रहेको र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित रहेको बताएका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई ‘रिटेन’ गरेको थियो ।

त्यस्तै अक्शनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको थियो ।

तेस्राे संस्करणकाे एनपीएल आउँदाे कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दाेस्राे संस्करणकाे उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

प्रकाशित मिति:
थप खेलकुद