नेभिगेशन

नेपालको होरा ईस्पोट्र्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाईल विश्वकपको फाइनलमा

नेपालको होरा ईस्पोट्सले फ्रान्सको पेरिसमा जारी ईस्पोट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ । समूह ‘बी’ को शीर्ष पाँचमा रहँदै होरा सोझै ग्रान्ड फिनालेमा पुग्न सफल भएको हो ।

समूहमा चौथो भएको होराले ५७ हजार ५०० डलर पुरस्कार पनि पक्का गरेको छ । आइतवार सकिएको समूह चरणमा होराले ९८ अंकसहित चौथो स्थान हासिल गरेको हो । होराले पहिलो दिन नै प्रभावशाली सुरुआत गरेको थियो ।

अन्तिम खेलअघि शीर्ष पाँचमा रहेको होरा अन्तिम खेलपछि छैटौं स्थानमा झरे पनि समग्र अंकका आधारमा शीर्ष पाँचमै रह्यो । समूह ‘बी’ बाट भाइटालिटी १४८ अंकसहित शीर्ष स्थानमा रहँदा आईडीए, एसटुजी र गडलाइक पनि होरासँगै फाइनलमा पुगेका छन् ।

समूह ‘ए’ बाट भने फोर थ्राइभ, ओरानगुटान, अउरोरा, टिम फ्ल्यास र निग्मा ग्यालेक्सीले शीर्ष पाँचमा रहँदै फाइनलमा स्थान बनाइसकेका छन्। यससँगै ग्रान्ड फिनालेका १६ मध्ये १० टोलीको टुंगो लागिसकेको छ ।

अगस्ट १४ देखि १६ सम्म हुने ग्रान्ड फिनालेमा होरा विश्वका उत्कृष्ट १६ टोलीसँग उपाधिका लागि खेल्नेछन् । उपाधि जित्ने टोलीले मात्रै ५ लाख अमेरिकी डलर पाउनेछ भने उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख ५० हजार डलर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति:
थप खेलकुद