नेभिगेशन

गएराति केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

काठमाण्डौ — गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गोरखा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरुमा पनि ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा भेलबाढी आएको छ । नुवाकोटको त्रिशूली नदी, प्युठानको लुंगरी नदी, कास्कीको मार्दीखोला, लमजुङको चेपेखोलामा बाढी आएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकश्मिक बाढी र गेग्रान बहावको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाडी भेग,  कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगको एक–दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज