नेभिगेशन

अस्ट्रेलियालाई उसकै घरमा हराउँदै बङ्गलादेशले रच्याे इतिहास

काठमाण्डाै – बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई ९ विकेटले हराउँदै इतिहास रचेको छ ।

अस्ट्रेलियाले दिएको ५७ रनको लक्ष्य बङ्गलादेशले खाना समयपछि १ विकेट गुमाएर भेटायो । बङ्गलादेशका मोमिनुल हकले नटआउट ३०, शादमान इस्लामले नटआउट २५ रन बनाए । अस्ट्रेलियाका जोश हेजलउडले १ विकेट लिए ।

बङ्गलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो । समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बङ्गलादेशको यो दोस्रो जीत हो ।

यसअघि सन् २०१७ मा घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई २० रनले हराएको थियो ।

पहिलो टेस्टको पहिलो पारीमा बङ्गलादेशले तन्जिम हसन तमिमको शतक तथा कप्तान नजमुल होसैन शान्तो र मेहदी हसन मिराजको अर्धशतकको मद्दतमा ४२६ रन बनाएको थियो । अस्ट्रेलियाका जोश हेजलउडले ६ विकेट लिए ।

यस्तै अस्ट्रेलियाले पहिलो पारीमा स्टेभेन स्मिथको अर्धशतकको मद्दतमा १९८ रन बनाएको थियो । बङ्गलादेशका हसन महमुदले ६ विकेट लिए ।

अस्ट्रेलियाले दोस्रो पारीमा क्यामरन ग्रीनको शतकको मद्दतमा २८४ रन बनाएको थियो । बङ्गलादेशका मेहदी हसन मिराजले ५ विकेट लिए ।

अस्ट्रेलिया र बङ्गलादेशबीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिवारदेखि म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद