नेभिगेशन

पश्चिमी भेगमा आज ‘वल्के’ र ‘गुरही’ पर्व मनाइँदै

पश्चिम भेगमा आज ‘वल्के’ र ‘गुरही’ पर्व मनाइँदैछ । भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ ।

काम विशेषले तथा अध्ययन गर्न घर बाहिर रहेकाहरु पनि यो चाड मनाउन आआफ्ना घर फर्किने गर्छन् । यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना मान्यजन, इष्टमित्र, छर छिमेकीलाई सगुनको रुपमा दूध, दही र पिँडालुको कलिलो पात अर्थात ‘गाभा’, हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने मौलिक परम्परा रहेको छ ।

विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी स्थानीय खानाका परिकार खुवाउने चलन छ । गाउँ घरतिर गोरस, सितन अर्थात गाईभैँसीको दूध, दही, मही बाँड्ने चलनसमेत छ । तर यो चलन पछिल्लो समय कम हुँदै गएको छ ।

यस पर्वमा गाउँघरमा युवायुवती जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउनेलगायत क्रियाकलाप गरिन्छ ।

यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले आज ‘गुरही’ पर्व मनाउँदैछन् । गुरही एक प्रकारको कीराको नाम हो, यसलाई नेपाली भाषामा ‘गाइनेकीरा’ भन्ने गरिन्छ । गर्मीयाममा गाउँघरमा व्याप्त दूषित कीटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाइ यस कीराले वातावरण सरसफाइमा मद्दत पुर्याउँछ।

यसै गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुडिया बनाइ गाउँको दक्षिण पट्टिको चोकमा सेलाउने (असरैना) गर्दछन् र पुरुषहरु सेलाएको गुडियालाई लठ्ठी आकारको सोताले पिट्ने तथा गाउँभरीको रोग व्याध र नराम्रो चिज लैजा भन्दै कराउने चलन छ ।

गुरही सेलाउने काम सकिएपछि गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा एकापसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने चलन छ । थारु समुदायमा नयाँ पर्वचक्रको सुरुवातका रुपमा लिइने यस पर्वलाई रोगव्याधी तथा नकारात्मक शक्तिलाई गाउँ समाजबाट हटाउने सांस्कृतिक विश्वाससँग जोडिन्छ ।

प्रकाशित मिति:
थप समाज