नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

काठमाण्डौ – ‘अर्नब’ चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिनुभयो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि हिजोदेखि नै निरन्तर वर्षा भइरहेको छ ।

मुस्ताङको भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।  

नेपाल–चीन सीमाको कोरला नाका र आसपासका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ ।

बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र कात्तिकमै हिउँले ढाकिएका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।     

प्रकाशित मिति:
थप समाज