नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका विषयमा साझा धारणा निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी बनाउन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ र प्रतिपक्षी दलका प्रतिनिधिलाई सहभागी गराउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसै विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो विभिन्न दलका प्रमुख सचेतक तथा प्रतिनिधिसँग छलफल समेत भएको थियो ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा भएको छलफलमा आउँदो नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना हुने कोप–३१ मा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय र राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा छलफल भएको थियो ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा र जलवायु वित्तका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्नेमा सरकारले जोड दिएको छ ।   

प्रकाशित मिति:
थप समाज