नेभिगेशन

आज २६ जिल्लामा बाढीको जोखिम

काठमाण्डौ — बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २६ जिल्ला तथा आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ । विशेषगरी नदी तथा खोलाको तल्लो तटीय क्षेत्र, डुबान भइरहने बस्ती र नदी किनार आसपासका नागरिकलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट तथा आसपासका जिल्लामा बाढीको जोखिम रहेको छ ।

महाशाखाले कर्णाली नदीको बेनीघाट अछाम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको र अझै बढ्दो क्रममा रहेको जनाएको छ । जलसतह निरन्तर बढिरहेको अवस्थामा नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा विगतमा डुबान हुने गरेका ठाउँमा पानी पस्ने जोखिम बढ्न सक्ने भएकोले नदी आसपास तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

आज विशेषगरी पहाडी जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ । 

प्रकाशित मिति:
थप समाज