नेभिगेशन

सतर्कता केन्द्रको अनुगमन, १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

काठमाण्डौ — राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ ।

केन्द्रले काठमाण्डौ, ललितपुर र भक्तपुरका १५ वटा कार्यालयमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समयपालना, पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो । अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्तकुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाण्डौ महानगरपालिकाका वडा–७ र ८ का कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठिमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाण्डौ दुग्ध वितरण आयोजनालगायत रहेका छन् ।

केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानुनबमोजिम कर्मचारीमाथि आवश्यक कारबाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिइएको छ । कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिकमैत्री बनाउन विशेष निर्देशनसमेत दिइएको विवरणमा उल्लेख छ ।

काठमाण्डौ महानगरपालिका वडा–७ र ८ का कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिइएको छ । रामघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा सम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन भनिएको छ ।

मनोहरा जग्गा एकीकरण आयोजनालाई अनिवार्य नागरिक बडापत्र राख्न र सहयात्री समितिको बैठक नबसेकाले बैठक बस्न निर्देशन दिइएको छ ।

सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शङ्कास्पद सम्पत्ति रहेको सूचना केन्द्रको हटलाइन ०१४२००३४५ मा फोन गरेर टिपाउन सकिने सतर्कता केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज