नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाण्डाै – प्रहरीले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेर काठमाण्डौ ल्याएको छ । प्रहरीले अर्याललाई भारतमा पक्राउ गरेर सीमा क्षेत्र पार गरेपछि हवाईमार्गबाट काठमाण्डौ ल्याएको हो ।

गृह मन्त्रालय स्रोतले नेपाल–भारत सीमा क्षेत्रमा पक्राउ गरेको जनाएको छ । तर अर्याल निकटका अनुसार भारतको कोलकतामै पक्राउ गरिएको हो ।

मलेशिया पठाउने श्रमिकलाई ठगी गरेको कसुरमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले अर्यालविरुद्ध काठमाण्डाै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

यो प्रकरणमा यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव उमेश ढुङ्गाना, राजीव पोखरेल र तत्कालीन कानून अधिकृत एवम् उपसचिव निर्मला गुरुङ पक्राउ परिसकेका छन् । उनीहरूमाथि मलेशिया सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम सङ्कलन गरी ठगेको आरोप छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

प्रकाशित मिति:
थप समाज