नेभिगेशन

इरान र अमेरिकाबीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने पाकिस्तानको प्रयास

इरान र अमेरिकाबीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असिम मुनीर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मुनीरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ ।  

इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान–पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्द्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अघि बढाउनु हो । तर, पछिल्लो समय इरान र अमेरिकाबीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनीरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख छ ।

पाकिस्तानले पछिल्ला महिनाहरूमा इरान र अमेरिकाबीच संवाद कायम गराउन आफूलाई मध्यस्थ वा सहजकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ । पाकिस्तानी सेनाको क्षेत्रीय राजनीतिमा रहेको प्रभावका कारण मुनीरको भ्रमणलाई सामान्य सैन्य भ्रमणभन्दा बढी राजनीतिक तथा कूटनीतिक महत्वको रूपमा हेरिएको छ ।

पछिल्लो समय अमेरिका इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने तयारीमा रहेको छ भने इरानले त्यस्ता प्रतिबन्धलाई अस्वीकार गर्दै प्रतिकार गर्ने चेतावनी दिइरहेको छ । हर्मुज जलमार्ग तनाव बढेका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर परेको छ ।

पाकिस्तान एकातिर इरानसँगको आफ्नो छिमेकी तथा सुरक्षा सम्बन्ध कायम राख्न चाहन्छ भने अर्कोतर्फ अमेरिका, साउदी अरब र टर्कीसँग पनि रणनीतिक सम्बन्ध विस्तार गरिरहेको छ ।

यही कारण इस्लामाबादले पछिल्लो कूटनीतिक सक्रियतालाई निकै सावधानीपूर्वक अघि बढाइएको देखिन्छ । यही पृष्ठभूमिमा मुनीरको तेहरान भ्रमण थप अर्थपूर्ण बनेको विश्लेषकहरुको भनाइ छ ।  

प्रकाशित मिति:
थप विश्व