काठमाण्डौ — आज शनिवार बाढी र वर्षाबारे सम्बन्धित महाशाखाले पूर्वानुमानसहित आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । विशेषगरी बुधबार भोटेकोशी (रसुवा) मा आएको बाढीपछि त्यस क्षेत्रमा थप बाढीको सम्भावना के छ ? भन्ने मुख्य चासो रहने गरेको छ ।
यसबारेमा बाढी पूर्वानुमान महाशाखाले आज बिहान भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तह भन्दा तल रहेको जनाएको छ । यी नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि तटीय क्षेत्रका बासिन्दा र उद्धार कार्यमा खटिएकाहरुलाई चनाखो रहन आग्रह गरिएको छ ।
बाढी बुलेटिनअनुसार चीनबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी सृजना भएको ठाउँमा नदी थुनिएर बनेको ताल बढ्दै गएको छ । यसको अर्थ यो ताल जुनसुकै बेला फुट्नसक्ने जोखिम छ ।
ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुंगा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ । त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारकर्तालाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ ।
सकेसम्म नदी किनारमा आवतजावत नगर्न र पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ । महाशाखाका बाढीविद् विनोद पराजुलीले बाढीको खतरा बढेमा पूर्वसूचना जारी हुनेछ । भोटेकोशीमा बाढीको जोखिम यथावत् रहेका बेला आज थप पानी पर्न सक्ने सम्भावना पनि छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको जोखिम रहेको जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रका धेरैजसो ठाउँमा आज मध्यमसम्मको वर्षा हुने सम्भावना छ । यी क्षेत्रको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले खोज तथा उद्धार कार्य पनि प्रभावित हुन सक्छ । त्यसैले सतर्कता अपनाउन आवश्यक छ ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै तथा मधेस र कोशी प्रदेशका तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । पहाडी तथा तराईका एक/दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि मध्यमसम्मको पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायतका ३४ वटा जिल्ला र आसपासका क्षेत्र भएर बग्ने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी सूचनामा उल्लेख छ ।
