नेभिगेशन

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, उद्धार टाेली फर्कियाे

काठमाण्डाै – रसुवाको भोटेकोशी नदीमा बुधवार आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी कार्य पूरा भएको छ । त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेका नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार सुरुङ झन्डै २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ ।

टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो । सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ ।

भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ ।

त्रिशूली–३ ‘बी’ को सुरुङमा विज्ञसहितको टोली खटिएर खोजी तथा उद्धार गरिरहेको छ । त्रिशूली–३ ‘ए’ मा गएराति विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो ।

त्यस्तै विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे जलविद्युत‍्काे सुरुङभित्र झन्डै १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ ।

माथिल्लो त्रिशूली–१ मा पनि उद्धार टाेलीले सुरुङभित्र झन्डै ३०० मिटरसम्म प्रवेश गरी खोजी गरेकाे र त्यहाँबाट एउटा शव सङ्कलन गरेको छ ।

यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज