नेभिगेशन

विपद् व्यवस्थापन र उद्धारका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग माग्याे

काठमाण्डाै – सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण सङ्कलन भइरहेको जानकारी दिएको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अद्यावधिक गर्ने काम भइरहेको बताउनुभएको हो ।

प्रवक्ता पौडेल क्षेत्रीका अनुसार सरकारले विपद्पछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको छ । सुरुङमार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टोली, पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

सरकारले शवको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट्ससहितको प्राविधिक सहयोग माग गरेको छ ।

राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले दीर्घकालीन पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने उल्लेख गर्नुभयो । उहाँले खोज, उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनुभएको छ ।

– न्यूज एजेन्सी नेपाल 

प्रकाशित मिति:
थप समाज