नेभिगेशन

भोटेकोशी बाढीपीडितका लागि देश–विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र

काठमाण्डौ – विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ ।

उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारी निकाय, राजनीतिक दल, निजी क्षेत्र, पालिका र नागरिकले सहयोग गरिरहेका छन् ।

बाढीपीडितका लागि विभिन्न पालिका, राजनीतिक दल, निजी क्षेत्र तथा सातवटै प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

यस्तै, बागमती, लुम्बिनी र कोशी प्रदेश सरकारले तीन–तीन करोड तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले दुई–दुई करोड रुपैयाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । सरकारी निकाय र निजी क्षेत्रसँगै सर्वसाधारणबाट समेत राहत तथा आर्थिक सहयोग जुटिरहेको छ ।

विपद्मा परेका नागरिकलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम पनि भैरहेको छ । छिमेकी तथा मित्रराष्ट्रहरूले समेत नेपालमा आएको विपद्प्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन् । भारतबाट पाँचौँ खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ ।

भारतले यसअघि पनि प्रभावितका लागि विभिन्न प्रकारका राहत सामग्री उपलब्ध गराउँदै आएको छ । यस्तै, चीनले बेलिब्रिजसहित राहत सामग्रीको तेस्रो खेप नेपाल पठाउने तयारी गरेको छ । जापान र भुटानले पनि नेपाललाई राहत तथा सहयोग उपलब्ध गराएका छन् ।

ठूलो मात्रामा राहत सामग्री काठमाण्डौमै जम्मा भइरहेका कारण प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ्न थालेको छ ।

प्रभावित नागरिकले तत्काल आवश्यक पर्ने खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ताकपडा तथा अन्य राहत सामग्री समयमै गाउँ–गाउँसम्म पुर्‍याउन माग गरेका छन् । यसैबीच, बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो आठ दिनमा मात्रै पाँच अर्ब २० करोड ६० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

विपद् आउनुअघि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकमसमेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म सात अर्ब ३७ करोड ६० लाख ७३ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।
 

प्रकाशित मिति:
थप समाज