नेभिगेशन

हिमाली तथा पहाडी क्षेत्रमा ठूलो वर्षा र लुम्बिनीको तराईमा हावाहुरीको सम्भावना

काठमाण्डौ – आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि एक–दुई ठाउँमा समेत ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका धेरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँ तथा मधेश र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने ठाउँमा सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै नदी तथा खोलामा पानीको बहाव बढ्न, पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज