नेभिगेशन

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम चल्दै

काठमाण्डाै – रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटमा रहेकाे त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल) को मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ ।

नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशङ्कामा सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्काभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेका छन् ।

सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो थुप्रो (डेब्रिस) मा अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूल्ठूला ढुङ्गाहरू छन् । दिनरातको निरन्तरको प्रयासपछि ती सामग्री पन्छ्याएर सुरुङको माथिल्लो भागतर्फ १० फिट लम्बाइ र ४ फिट उचाइ जति मुख खोलिएको सेनाले जनाएको छ ।

आयोजना स्थलमा रहनुभएका सांसद् श्रीराम न्यौपानेका अनुसार सेनाकाे नेतृत्वकाे टाेलीले सुरुङभित्र छिरेर माटो सोहोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको छ ।

एक्स्काभेटर तथा मेशिनसहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी थुप्राे हटाउने काम पनि भइरहेकाे छ । थप ७ वटा बोल्डर (ठूला ढुङ्गा) ब्लास्टिङका लागि तयारी भइरहेको छ ।

यो सुरुङ १७० मिटर जति लम्बाइको छ । माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावरहाउस लगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज