नेभिगेशन

बीपी राजमार्गमा गाडीको चाप बढेपछि आलोपालो प्रणाली

काठमाण्डौ — पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा बाढीका कारण सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा गाडीको चाप बढेको छ । चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणाली लागू गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गमा मालवाहक गाडी रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । १० टनभन्दा बढी तौल भएका गाडी सञ्चालन गर्दा समस्या हुने भएकाले तौल सीमासमेत कायम गरिएको प्रशासनले जनाएको छ ।

धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक गाडी सम्भव भएसम्म बाटोमा एक–अर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समेत समन्वय गरिएको छ ।

यस्तै, ग्यास बुलेटलगायत ठूला मालवाहक गाडीलाई बीपी राजमार्गको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम रहेका साँघुरा घुम्ती तथा सडक अवरोध हुनसक्ने ठाउँ पहिचान गरी तत्काल सम्भव सुधारका काम अघि बढाउने जनाएको छ । 

प्रकाशित मिति:
थप समाज