नेभिगेशन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

काठमाण्डाै – रसुवाको भोटेकोशी बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ ।

समितिमा सङ्घीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन् । उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ ।

समितिलाई बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोवास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोवास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिइएको मन्त्री रावलको सचिवालयले जानकारी दिएको छ ।

समितिले बाढी पीडित परिवारको पहिचान, पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोवासका लागि आवश्यक कानूनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिशसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ ।

प्रकाशित मिति:
थप समाज