नेभिगेशन

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

काठमाण्डौ - भोटेकाशी बाढीले रसुवामा जनधनको  ठूलो क्षति पुर्‍याएको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढीमा परेर रसुवाका मात्रै एक हजार ३६५ जना मानिस सम्पर्कबिहिन भएका छन् ।

यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका एक हजार १६० अन्य जिल्लाका नागरिक र २६४ जना पर्यटक पनि सम्पर्कविहीन भएका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी, ७९ जना सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ जना नेपाल प्रहरी, २७ नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयको प्रारम्भिक प्रतिबेदन अनुसार एक हजार ५ सय वटा निजी घरमा क्षति पुगेको छ । यस्तै २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्पमा क्षती पुगेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बाढीले रसुवामा ४१ किलोमिटर सडक, ६ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ ।

बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगाावटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली ३ ‘बी’मा क्षति पुर्‍याएको छ । 

प्रकाशित मिति:
थप समाज