नेभिगेशन

बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम

काठमाण्डौ – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगको जोखिम बढेको छ । दूषित पानी, फोहर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिनुभएको छ ।

बाढीको पानी वा बाढीले छोएको पानी पिउनाले झाडापखाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सलटेन्ट फिजिसियन डा विमल शर्मा चालिसेका अनुसार विपद्मा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाइमा ध्यान दिनु हो ।

यस्तो अवस्थामा दूषित पानी र फोहर खानाका कारण झाडापखाला र हैजा तीव्ररुपमा फैलिन सक्छ । टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको सङ्क्रमण पनि हुन सक्छ । सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन विपद्को समयमा कीटजन्यभन्दा पनि सुरुवाती दिनमा पानीजन्य रोगको बढी सम्भावना रहने बताउनुहुन्छ ।

डा पुन यसबाट विशेषतः बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीघरोग भएका बिरामीलाई जोगाउनुपर्ने बताउनुहुन्छ । डा पुनकाअनुसार शवलाई लामो समयसम्म व्यवस्थापन गर्न सकिएन भने त्यसबाट विभिन्न प्रकारका महामारी निम्तिन सक्ने जोखिम रहन्छ ।

यस्तै बाढी प्रभावित जिल्लामध्येको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमुना लिने क्रममा १५ वटा पिउने पानीका नमुनामध्ये पाँचवटामा ईकोलीको सङ्क्रमण भेटिएको छ ।

प्रकाशित मिति:
थप समाज