नेभिगेशन

धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टङ्कार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।

डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत यो उपलब्धि कायम राखेको भन्दै समितिको ७९औँ बैठकमा नेपाललाई सम्मान गरेको हो  ।

धनुष्टङ्कार (टिटानस) ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने एक गम्भीर रोग हो । टिमोर–लेस्टेमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ । यस्तै नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ ।

नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्युनीकरण तथा सर्वसुलभ, समतामूलक र विपन्न, पहुँचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा योगदान पुऱ्याएवापत ‘डब्लुएचओ’ले पहिलो पटक सङ्घलाई यो विधाको सम्मान गरेको हो ।

नेपाल नेत्रज्योति सङ्घले पाँच दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि निरन्तर कार्य गर्दै आएको छ । ‘डब्लुएचओ’ अनुसार नेपालमा अन्धोपनको अवस्था सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०/२१ सम्ममा घटेर ०.२८ प्रतिशत मा पुगेको छ । 

प्रकाशित मिति:
थप समाज