नेभिगेशन

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाण्डौ – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा फेरि उल्लेख्य बढेको भन्दै आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।

विभागले नयाँ राहदानी प्रणाली शुरुआत भएदेखि आमसेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको सङ्ख्या बढेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्‍याउन अनुरोध गरेको हो ।

विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेको छ । त्यस्तै गएको साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

अत्यावश्यक अवस्थाबाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेस गर्न विभागले अनुरोध गरेको छ ।

विभागले राहदानी सेवाग्राहीको चाप व्यवस्थापन तथा सहज रूपमा सेवा प्रवाह गर्न सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज