नेभिगेशन

ग्यास आपूर्ति भैरहेको उद्योगीको दाबी, बजारमा भने उस्तै अभाव

काठमाण्डौ – बजारमा ग्यासको चरम अभाव भैरहँदा नेपाल एलपी ग्यास उद्योग संघले मागअनुसारकै आपूर्ति भैरहेको दावी गरेको छ ।

संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोभिड महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन् ।

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाण्डौ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशनअनुसार काठमाण्डौ, काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीलगायत ठाउँका उद्योगमा भरेर काठमाण्डौ उपत्यकामा बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ ।

संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरेको छ । संघले आपूर्ति भैरहेको दाबी गरे पनि बजारमा ग्यास अभाव उस्तै छ ।

लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन् चुनौती थपेको छ । यही भदौ १४ गते कृष्णभीरमा सडक भासिँदा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन ।

वैकल्पिक मार्गबाट आएको ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन । उद्योगमन्त्रीले उद्योगी र कर्मचारीका कारण समस्या भएको दाबी गर्नुभएको छ । 

प्रकाशित मिति:
थप समाज