नेभिगेशन

रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा चहलपहल बढ्यो

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका पछिल्लो समय मुख्य आयात–निर्यात मार्गका रूपमा चलायमान बन्न थालेको छ ।

रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तु तथा विद्युतीय सवारीसाधनको चाप कोरला नाकातर्फ बढेको हो । केही वर्षअघिसम्म उपल्लो मुस्ताङका नागरिकको दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित रहेको कोरला अहिले चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाकाका रूपमा विस्तार हुँदै गएको छ ।

कोभिड–१९ महामारीका कारण चार वर्षसम्म बन्द रहेको कोरला नाका २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो ।

त्यसपछि तल्लो मुस्ताङका नागरिकलाई समेत सीमापार पास उपलब्ध गराइएपछि नेचुङ–लिजी आउजाउ सहज भएको थियो । तर, नाका बाह्रै महिना खुले पनि सुरुवाती अवस्थामा व्यापारिक गतिविधि भने सीमित थियो ।

स्थानीय नागरिकले घरायसी प्रयोजनका लागि चीनको लिजी हाटबजारबाट दैनिक उपभोग्य वस्तु खरिद गरी ल्याउने गरे पनि ठूलो परिमाणमा आयात–निर्यात हुने गरेको थिएन ।

त्यसबेला मुस्ताङ भन्सार कार्यालयले वार्षिक १० देखि १५ करोड रुपैयाँ हाराहारी मात्रै राजस्व सङ्कलन गर्दै आएको थियो । कोरला नाकाको व्यापारिक गतिविधिमा भने गत वर्षदेखि उल्लेख्य परिवर्तन आएको हो ।

गत वर्ष असार र भदौमा आएको बाढी, पहिरो र नदी कटानका कारण तातोपानी र रसुवागढी नाका बन्द भएपछि चीनसँगको वैकल्पिक व्यापारिक मार्गका रूपमा कोरला नाकालाई प्रयोग गर्न थालिएको थियो । त्यसपछि नाकामा भन्सारका कर्मचारी थपिए भने आयात–निर्यातको परिमाणसमेत बढ्दै गयो ।

अहिले कोरला नाका र मुस्ताङ भन्सार कार्यालयमा मालवाहक कन्टेनर तथा विद्युतीय गाडी चाप बढेको छ । अझै यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकामा थप चाप परेको हो ।

तातोपानी नाका पनि नियमित सञ्चालनमा आउन नसकेपछि चीनबाट नेपाल आउने मालवस्तुका लागि कोरला प्रमुख वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी नाका बन्द भएपछि केरुङमा रोकिएका १७६ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ डाइभर्ट गरिएका छन् । तीमध्ये केही कन्टेनर कोरला आइपुगेका छन् भने बाँकी पनि क्रमशः आइरहेका छन् ।


 

प्रकाशित मिति:
थप अर्थ