नेभिगेशन
शुक्रबार, भदौ २६, २०८३

मुस्ताङको लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति

काठमाण्डौ – यही भदौ २३ गते मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न ठाउँमा ३० भन्दा बढी घर पूर्णरुपमा क्षति भएका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार लोमान्थाङ गाउँपालिकाअन्तर्गत लोमान्थाङ–५ बाहेक अन्य वडामा भूकम्पले धेरै घरमा क्षति पुगेको छ ।

अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहितका  जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय लोमान्थाङ, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र एक्याप लोमान्थाङका प्रतिनिधीहरुले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको क्षति विवरण सङ्कलन गर्न थालेका हुन् ।

गाउँपालिकाका गुरुङले अहिलेसम्म लोमान्थाङ गाउँपालिकाअन्तर्गत वडा नं ३ को नाम्ग्याल, फुवा र ठिङ्गर, वडा नं ४ अन्तर्गत किम्लिङ, चुम्जुङ र नाम्डोक तथा वडा नं १ को छोसेर क्षेत्रमा भूकम्पको क्षति विवरण सङ्कलन भएको बताउनुभयो ।

लोमान्थाङको वडा नं ३ ,४ र वडा नं १ छोसेर गाउँको आधा क्षति विवरण सङ्कलन हुँदा झण्डै ३० घर भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।  

लोमान्थाङ गाउँपालिका–२ छोसेर र वडा नं ५ को लोमान्थाङमा क्षति विवरण सङ्कलन हुन बाँकी छ । भूकम्पको क्षति विवरण सङ्कलन गर्ने क्रममा लोमान्थाङ–५ बाहेक सबै वडामा भूकम्पको असरले स्थानीयका अधिकांश घरमा आंशिक चिरा परेका र भत्किने खतरा रहेको उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
थप समाज